प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: १६ घण्टा अघि (१६ घण्टा अघि)
काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका मात्र होइन, सम्पूर्ण नेपाली आत्माको स्वर भएको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले भानुभक्तलाई राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक तथा जनताका महान् स्रष्टाका रूपमा स्मरण गरे।
सभामुख अर्यालले भानुभक्तले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी धर्म, दर्शन, नीति र आदर्शलाई आम नेपालीको पहुँचमा पुर्याएको उल्लेख गर्दै, उनको योगदानले नेपाली भाषा घरघरमा स्थापित भएको र राष्ट्रिय एकतालाई बलियो बनाएको बताए।
उनले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशबीच नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन सबैको साझा दायित्व भएको उल्लेख गरे। युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्दै भानुभक्तको आदर्शलाई समयअनुकूल अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा. आना एम. स्टिरलाई नेपाली भाषा, साहित्य र संस्कृतिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। कार्यक्रममा प्रभातफेरी, भानुभक्तको प्रतिमामा माल्यार्पण तथा विभिन्न साहित्यिक गतिविधिहरू पनि सम्पन्न भएका थिए।