प्रभातफेरी अनलाइन४७ पटक पढिएको | २०८३ श्रावण ३, आईतबार
काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले सत्ताको लोभमा अब सिद्धान्तसँग सम्झौता नगर्ने बताएका छन्।
आइतबार ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले प्रदेशमा तीन दल मिलेर सरकार गठन गर्नु जनादेशविपरीत हुने भन्दै कांग्रेसले यस्तो प्रस्ताव अस्वीकार गर्ने स्पष्ट पारे।
थापाले पार्टीमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै कांग्रेसले विगतमा सबै जातजाति, भाषाभाषीलाई जोडेजस्तै अब सबै पुस्तालाई पनि एकताबद्ध गर्नुपर्ने बताए।
उनले प्रदेशमा तीन दलको गठबन्धन बने प्रतिपक्षविहीन अवस्था सिर्जना हुने भएकाले लोकतान्त्रिक अभ्यास कमजोर हुने तर्क गरे।
विगतमा सत्ताका लागि कांग्रेसबाट केही गल्ती भएको स्वीकार गर्दै थापाले अब त्यस्ता गल्ती नदोहोर्याउने र सिद्धान्तलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।