प्रभातफेरी अनलाइन५५ पटक पढिएको | २०८३ श्रावण ४, सोमबार
काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन प्रवर्द्धन गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र नागरिकका मौलिक अधिकारमा कुनै पनि प्रकारको सम्झौता गर्न नसकिने स्पष्ट पारे। यद्यपि संविधानका अन्य विषयमा भने आवश्यक छलफल र परिमार्जन गर्न कांग्रेस तयार रहेको उनले बताए।
शासकीय स्वरूपबारे भइरहेको बहसलाई संकेत गर्दै थापाले यस विषयमा खुला रूपमा विमर्श गर्नुपर्ने धारणा राखे। उनले समावेशितालाई अझ प्रभावकारी र सुदृढ बनाउने पक्षमा कांग्रेस दृढ रहेको उल्लेख गर्दै नागरिकले प्राप्त गरेका अधिकार संकुचित गर्ने वा कटौती गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।
पछिल्लो समय सडक र राजनीतिक वृत्तमा उठिरहेको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’को मागबारे पनि उनले आफ्नो अनुभवका आधारमा यस विषयमा गम्भीर बहस गर्न सकिने बताएका छन्।