प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं, वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने निश्चित भएसँगै मुख्यमन्त्री पदका लागि एमालेभित्र तीन नेताले दाबेदारी प्रस्तुत गरेका छन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुँदा वाग्मती प्रदेश एमालेको भागमा परेको हो। त्यससँगै एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, किरण थापा मगर र पूर्वमन्त्री केशवप्रसाद पोखरेलले मुख्यमन्त्री बन्ने आकांक्षा सार्वजनिक गरेका छन्।
संसदीय दलका नेता थपलियाले आफ्नो दाबी स्वाभाविक रहेको बताउँदै पार्टी नेतृत्वले सहज रूपमा निर्णय लिने विश्वास व्यक्त गरेका छन्। चितवन–१ बाट निर्वाचित उनले आफ्नो दाबेदारीमा पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्।
भक्तपुरबाट प्रदेशसभा सदस्य निर्वाचित किरण थापा मगरले पनि शीर्ष नेतृत्वबाट आफ्नो पक्षमा निर्णय आउनेमा विश्वास व्यक्त गरेका छन्। यस्तै, पूर्वमन्त्री केशवप्रसाद पोखरेलले संसदीय र सरकारी अनुभवका आधारमा आफू पनि मुख्यमन्त्रीको बलियो दाबेदार रहेको बताएका छन्।
वाग्मती प्रदेशसभामा एमालेका २५ सांसद छन्। मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टी नेतृत्व र सांसदहरूसँग छलफललाई तीव्र बनाएका छन्।
यसअघि कांग्रेस–एमाले गठबन्धनअन्तर्गत २०८२ साउन २० गते कांग्रेसका इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो। त्यसबेला १४ मन्त्रालय रहेको सरकारलाई प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यसहित आठ मन्त्रालयमा सीमित गरिएको थियो। नयाँ राजनीतिक समीकरण बनेसँगै मन्त्रालयको यही संरचनाले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा भने अझै अन्योल रहेको छ।