प्रभातफेरी अनलाइन२५ पटक पढिएको | २०८३ श्रावण १२, मंगलबार
काठमाडौं, भक्तपुर बार एसोसिएसनको आयोजनामा सम्पन्न ‘लयर्स फुटसल कप–२०८३’ ले कानुन व्यवसायी, अदालत र न्याय क्षेत्रबीचको सद्भाव, सहकार्य तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकका बार एसोसिएसन, जिल्ला अदालत, कानुनी सेवा तथा कानून फर्मका गरी १४ टोली सहभागी भएका थिए।
प्रतिस्पर्धात्मक फाइनलमा नेपाल न्यायले उपाधि जित्दा भक्तपुर बार ‘ए’ उपविजेतामा सीमित रह्यो। काठमाडौं बार ‘सी’ तेस्रो र भक्तपुर बार ‘बी’ चौथो स्थानमा रह्यो। विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले ट्रफी, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अदालत र बारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन खेलकुदजस्ता सिर्जनात्मक कार्यक्रम प्रभावकारी हुने बताउँदै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल, जिल्ला न्यायाधीश तथा विभिन्न जिल्लाका वरिष्ठ कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिता सम्पन्न गर्न नेपाल टेलिकम, नेपाल इको प्यानल, अयुप इन्टरनेशनल, महालक्ष्मी इन्टरप्राइजेज, श्रीभक्त कासिछ्वा, नेपाल लक्ष्मी फेसन लगायत विभिन्न संस्था तथा कानुन व्यवसायी फर्महरूले सहयोग गरेका थिए। संवाहक मिडिया हाउस र नागरिक दैनिक मिडिया पार्टनर तथा मध्यपुर अस्पताल स्वास्थ्य पार्टनरका रूपमा सहभागी रहेका थिए।
आयोजक भक्तपुर बार एसोसिएसनका अनुसार प्रतियोगिताले कानुन व्यवसायी, अदालत र न्याय प्रशासनसँग आबद्ध व्यक्तिहरूबीच स्वस्थ प्रतिस्पर्धा, पारस्परिक विश्वास र सहकार्यको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।