प्रभातफेरी अनलाइन३६ पटक पढिएको | २०८३ श्रावण १६, शनिबार
काठमाडौ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर नागरिक र मानव सेवाको प्रमुख माध्यम बनाउनुपर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले पद र शक्तिप्रतिको बढ्दो आशक्तिप्रति चिन्ता व्यक्त गरे।
उनले राजनीति सबैभन्दा ठूलो सार्वजनिक सेवाको क्षेत्र भएको उल्लेख गर्दै पार्टीका संस्थापक नेताहरूले सत्ता वा शक्तिको लोभका लागि नभई नागरिक सेवाको भावनाले कांग्रेस स्थापना गरेको स्मरण गरे। शक्ति र सत्ता जनसेवाको साधन हुनुपर्नेमा अहिले सत्ता प्राप्तिलाई नै राजनीतिको मुख्य उद्देश्य बनाइनु दुःखद् र राजनीतिको मूल मर्मविपरीत भएको उनको भनाइ थियो।
सभापति थापाले बदलिँदो राजनीतिक परिवेशसँगै पार्टीसामु नयाँ विषय र चुनौती थपिएको उल्लेख गर्दै सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। “आज पार्टी नयाँ चरणमा आइपुगेको छ। नयाँ विषय छन्, नयाँ चुनौतीहरू छन्,” भन्दै उनले समयअनुकूल नीति, संगठन र नेतृत्व विकासमा जोड दिए।