logo
२०८३ श्रावण १८, सोमबार |
📰
🔍

किसान आन्दोलनको विरासत अघि बढाउन ओलीको आग्रह

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण १७, आईतबार
किसान आन्दोलनको विरासत अघि बढाउन ओलीको आग्रह

काठमाडौ / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई थप सशक्त रूपमा अघि बढाउन आग्रह गरेका छन्।

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आइतबार जारी श्रद्धाञ्जली सन्देशमा ओलीले नेपाल कम्युनिस्ट पार्टीका पूर्व महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक र सङ्गठनात्मक रूपमा मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको स्मरण गरेका छन्। उनले ‘जसको जोत, उसको पोत’ भन्ने नारामार्फत किसानलाई आफ्नो हक–अधिकारका लागि सङ्गठित हुन प्रेरित गरेको उल्लेख गरेका छन्।

सन्देशमा ओलीले अमात्यको निरंकुशताविरुद्धको सङ्घर्ष र वामपन्थी आन्दोलनमा रहेको योगदान नेपाली राजनीतिक इतिहासमा सदैव स्मरणीय रहने बताएका छन्।

त्यस्तै, अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्ध लडेका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा स्मरण गर्दै ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नारासहित उनले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको आन्दोलनको नेतृत्व गरेको उल्लेख गरिएको छ।