प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
काठमाडौं / जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षासँगै केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आज पहाडी भूभागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ भने कर्णालीका पहाडी क्षेत्र र लुम्बिनीका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। बुधबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ। आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेष गरी सुन्तला रङले संकेत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।