प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ भाद्र २, मंगलबार
काठमाडौँ / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहितालाई समयअनुकूल संशोधन गर्दै न्यायमुखी, नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबार आयोजना गरेको ‘संहिता दिवस–२०८३’ समारोहमा मन्त्री गौतमले बदलिँदो समय र प्रविधिसँगै उत्पन्न नयाँ चुनौतीलाई सम्बोधन गर्न मुलुकीसंहितामा आवश्यक सुधार गर्नुपर्ने बताइन्।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकृतिका आर्थिक अपराध, वातावरणीय सङ्कट, बदलिँदा सामाजिक सम्बन्ध तथा रोजगारीका नयाँ स्वरूपले कानुनका अगाडि नयाँ प्रश्नहरू खडा गरिरहेका छन्।
मन्त्री गौतमले ‘संहिता दिवस’ले नागरिकको विश्वासका लागि उत्तरदायी राज्य निर्माण गर्ने साझा सङ्कल्प गराउनुपर्ने बताइन्।
त्यस्तै, उनले कानुन आयोगलाई अझ सक्षम, अनुसन्धानमुखी र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। कानुन निर्माणमा संलग्न कानुन अधिकृतहरूको क्षमता विकास, अनुभव आदानप्रदान तथा व्यावसायिक दक्षता अभिवृद्धिका लागि कानुन अधिकृत सम्मेलनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने उनको भनाइ थियो।