प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र ४, बिहिबार
रौतहट / रौतहट प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा पेश गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू विद्युतीय अपराध, लागूऔषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहसम्बन्धी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्।
प्रहरीका अनुसार १३ जनामाथि अदालतको फैसलाअनुसार कुल ५ वर्ष ३ महिना २३ दिन कैद र १ लाख १८ हजार रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी थियो।
रौतहट प्रहरीले अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिने जनाएको छ।