प्रभातफेरी अनलाइन४ पटक पढिएको | ४३ मिनेट अघि
एजेन्सी / क्यामरुनको सीमासँग जोडिएको सेन्ट्रल अफ्रिकन रिपब्लिकको पश्चिमी क्षेत्रमा रहेको सुनखानीमा पहिरो जाँदा कम्तीमा १०७ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीका अनुसार पहिरोपछि उद्धार तथा राहत कार्य जारी छ। घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
मेयर अब्दोनले हालसम्म भग्नावशेषबाट १०७ वटा शव निकालिएको जानकारी दिएका छन्। दुर्घटनामा बाँच्न सफल खानी श्रमिक सेड्रिक मबांगोले जमिन पूर्ण रूपमा धसिएको र धेरै मानिस भग्नावशेषमा पुरिएको बताएका छन्।
मृतकमध्ये कम्तीमा तीनजना क्यामरुनका नागरिक रहेको क्यामरुनको इस्ट रिजनका गभर्नरले बताएका छन्। पहिरोको कारण खुल्न नसकेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको छ।
यस क्षेत्रमा परम्परागत तथा साना स्तरमा गरिने खनन धेरै परिवारको आम्दानीको मुख्य स्रोत भए पनि काम गर्ने अवस्था जोखिमपूर्ण रहेको बताइएको छ। खानी धसिने तथा पहिरो जाने घटना यहाँ पटक–पटक हुने गरेका छन्।