प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र ४, बिहिबार
चितवन / राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा चितवनसहित १६ जिल्लाका किसानले पालेका करिब ७ हजार कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरेको छ।
प्रयोगशाला प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टमसँगै १ हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग देखिएका छन्। परीक्षणमा २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो, ९ प्रतिशतमा सिआरडी तथा ९ प्रतिशतमा ढुसीजन्य रोग देखिएको छ। यस्तै, सिसिआरडी ४ प्रतिशत र साल्मोनेलोसिस ३.५ प्रतिशतमा देखिएको छ।
द्रुत परीक्षणका क्रममा एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आईबी र रानीखेतलगायतका रोगसमेत पुष्टि भएका छन्। २७८ नमुना परीक्षण गर्दा ४७ वटामा एभियन इन्फ्लुएन्जा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका अनुसार ९०० वटा कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएका कुखुरामा कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्नेबारे सेवाग्राहीलाई आवश्यक जानकारीसमेत दिइएको छ।
डा. श्रेष्ठले कुखुराजन्य रोगको संक्रमण रोकथामका लागि जैविक सुरक्षा अपनाउनुपर्नेमा जोड दिँदै जैविक सुरक्षा कमजोर हुँदा रोगको जोखिम बढ्ने बताए।