प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ भाद्र १०, बुधबार
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वयपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरणप्रभावित क्षेत्रमा पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्ट समेत पठाइने भएको छ।
बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंका संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा आवश्यक सामग्रीको तत्काल व्यवस्थापनका लागि सम्बन्धित निकायहरू परिचालन भइरहेको मन्त्रालयको भनाइ छ।