logo
२०८३ भाद्र १३, शनिबार |
📰
🔍

भोटेकोशी बाढीपछि मानव अधिकार अवस्थाको अनुगमन गर्न आयोगको टोली प्रभावित क्षेत्रमा

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीपछि मानव अधिकार अवस्थाको अनुगमन गर्न आयोगको टोली प्रभावित क्षेत्रमा

काठमाडौं / रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा मानव अधिकारको अवस्थाबारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगले टोली परिचालन गरेको छ।

आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीका अनुसार केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टाछुट्टै दुई टोली बाढी प्रभावित जिल्लामा खटिएका छन्।

बुधबार भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत जिल्लाका १५ स्थानीय तहमा ठूलो जनधनको क्षति भएको आयोगले जनाएको छ। आयोगले क्षतिसम्बन्धी प्रारम्भिक विवरणसमेत प्राप्त भएको जनाएको छ।

आयोगका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिकस्तरबाट आवश्यक काम भइरहेको छ।

विपद्पछि प्रभावित नागरिकको सुरक्षा, सुरक्षित बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइजस्ता आधारभूत आवश्यकतामा थप जटिलता आउन सक्ने भन्दै आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

साथै, विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग, समन्वय र मानवीय सेवा उपलब्ध गराउन आयोगले सबै पक्षसँग आग्रह गरेको छ।