प्रभातफेरी अनलाइन४७ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
भक्तपुर / नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयकै निर्देशनअनुसार निर्वाचन सम्पन्न गरेको भक्तपुर जिल्ला शाखाको कार्यसमिति भङ्ग गरी नयाँ तदर्थ समिति गठन गरिएपछि विवाद चुलिएको छ।
भक्तपुर जिल्ला शाखाका पदाधिकारीका अनुसार केन्द्रीय कार्यालयले २०८० कात्तिक २२ गते पत्र पठाउँदै जिल्ला शाखाको निर्वाचन गर्न निर्देशन दिएको थियो। त्यसपछि २०८० माघ १० गते अर्को पत्रमार्फत निर्वाचन अधिकृतसमेत तोकेर २०८० फागुन मसान्तभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको थियो।
केन्द्रको उक्त निर्देशनअनुसार भक्तपुर जिल्ला शाखाले २०८० फागुन ७ गते नै निर्वाचन सम्पन्न गरेको थियो। तर, अहिले केन्द्रीय कार्यालयले माघ मसान्तभित्र निर्वाचन सम्पन्न नगरेको आधार देखाउँदै निर्वाचित जिल्ला कार्यसमिति भङ्ग गरी तदर्थ समिति गठन गरेको भन्दै शाखाका पदाधिकारीले आपत्ति जनाएका छन्।
निर्वाचनका लागि केन्द्रले नै समयसीमा तोकेर निर्देशन दिएको अवस्थामा सोही अवधिभित्र सम्पन्न भएको निर्वाचनलाई अहिले आएर वैधानिकता नदिइएको भन्दै उनीहरूले निर्णयप्रति प्रश्न उठाएका छन्। उनीहरूका अनुसार केन्द्रको पछिल्लो निर्णय यसअघि आफैँले दिएको निर्देशनसँग समेत बाझिएको छ।
भक्तपुर जिल्ला शाखाका सरोकारवालाले निर्वाचित समितिलाई हटाएर अर्को तदर्थ समिति गठन गर्नु विधि, प्रक्रिया र संस्थागत अभ्यासविपरीत भएको दाबी गर्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
यसअघि निर्वाचन सम्पन्न भइसकेपछि पनि केन्द्रबाट अर्को समिति गठन गर्ने प्रयास भएको र अहिले निर्वाचित समितिलाई भङ्ग गरी समानान्तर संरचना अघि बढाइएको उनीहरूको आरोप छ। नियमित संगठनात्मक प्रक्रियाबाट वडा, नगर हुँदै प्रतिनिधित्व गरी निर्वाचित भएर नेतृत्वमा आउनुपर्नेमा शक्ति र प्रभावका आधारमा समिति गठन गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
मानवीय सेवामा सक्रिय संस्थाका रूपमा रहेको रेडक्रसमा संस्थागत विधि, पारदर्शिता र नियमित निर्वाचन प्रक्रियालाई बेवास्ता गरिए यसले संस्थाको विश्वसनीयता र भविष्यमा गम्भीर असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
भक्तपुर रेडक्रसमा देखिएको विवाद तत्काल समाधान गरी निर्वाचित समिति र संस्थागत प्रक्रियालाई सम्मान गर्नुपर्ने उनीहरूको माग छ।