प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
नुवाकोट / नुवाकोटमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्न श्री श्री श्री महागुरु दिव्य सिद्धि पुरुष जगद्गुरु महाराज शिव शक्ति बाबा राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका छन्।
भदौ १५ गते काठमाडौंँबाट आवश्यक राहत सामग्री लिएर विदुर पुगेका शिव शक्ति बाबाले प्रभावित परिवारलाई प्रत्यक्ष भेटेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेका हुन्। उनले करिब १ लाख ८० हजार रुपैयाँ बराबरको राहत सामग्री तथा नगद सहयोग उपलब्ध गराएको जनाइएको छ।
राहत सामग्रीमा चामल, चिउरा, भुजा, दालबुट, भुजिया, फ्रुटी, पानीलगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री रहेका थिए। आवश्यकताअनुसार केही प्रभावित नागरिकलाई व्यक्तिगत रूपमा नगद सहयोगसमेत गरिएको बताइएको छ।
बाढी तथा पहिरोका कारण घर, खाद्यान्न तथा दैनिक आवश्यकताका सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले आफू प्रभावित क्षेत्रमा पुगेको शिव शक्ति बाबाले बताएका छन्। उनले विपद्को समयमा समस्यामा परेका नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सबैको मानवीय दायित्व भएको उल्लेख गरे।
उनले विपद्का बेला आश्वासनभन्दा पनि प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, पानी तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए। साथै, समाजका सक्षम व्यक्ति, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले पनि आफ्नो सामर्थ्यअनुसार पीडित परिवारसम्म सहयोग पुर्याउनुपर्ने बताए।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनःनिर्माणको आवश्यकता रहेको स्थानीयको भनाइ छ। सरकारी तथा सुरक्षा निकायसँगै सामाजिक संस्था, निजी क्षेत्र र व्यक्तिगत रूपमा हुने सहयोगले प्रभावित नागरिकलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।
विपद्को कठिन घडीमा राहत सामग्री तथा नगद सहयोग लिएर प्रभावितको साथमा पुगेको भन्दै स्थानीयले शिव शक्ति बाबा तथा सहयोगमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।