प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारी सक्रियता सामाजिक सञ्जालमा गरिने पोस्ट र अभिव्यक्तिमा मात्र सीमित देखिएको, तर वास्तविक उद्धार तथा राहतको काम भने कमजोर रहेको टिप्पणी गरे।
सुरुङ मार्गलगायत जटिल भूभागमा फसेका नागरिकको उद्धारमा सरकारले ‘एक्लै सबै गर्छु’ भन्ने मानसिकता राख्दा गम्भीर ढिलाइ भएको पौडेलको भनाइ छ। उनले बाह्य तथा अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोग लिन ढिलाइ गर्नु सरकारको ठूलो कमजोरी भएको बताए।
‘विज्ञ झिकाउन तत्कालै तत्परता देखाएको भए उद्धारमा यति गम्भीर ढिलाइ हुने थिएन,’ पौडेलले भने। प्रधानमन्त्रीले ढिलै भए पनि उद्धारमा कमजोरी भएको स्वीकार गर्दै विदेशी विज्ञसँग समन्वय भइरहेको बताउनुले सुरुवाती चरणमै सरकार चुकेको पुष्टि हुने उनको दाबी छ।