logo
२०८३ भाद्र १९, शुक्रबार |
📰
🔍

बाढी–पहिरो प्रभावितको उद्धार र राहतमा नेपाल संघीय समाजवादी पार्टी सक्रिय

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
बाढी–पहिरो प्रभावितको उद्धार र राहतमा नेपाल संघीय समाजवादी पार्टी सक्रिय

काठमाडौं / देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सक्रियता बढाएको छ।

मोहम्मद रिजवान अन्सारी नेतृत्वको पार्टीले विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। पार्टीका कार्यवाहक महासचिव जनकबहादुर कार्कीले जारी गरेको वक्तव्यमा राज्यका तर्फबाट उद्धार तथा राहतका प्रयास भइरहे पनि विपत्तिको गम्भीरता र प्रभावित नागरिकको आवश्यकताअनुसार तत्परता, समन्वय र प्रभावकारिता पर्याप्त हुन नसकेको उल्लेख गरिएको छ।

पार्टीले विपद्को समयमा सरकारी संयन्त्र मात्र नभई राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा स्वयंसेवी समूहलाई समेत तत्काल परिचालन गर्नुपर्नेमा जोड दिएको छ। प्रभावकारी समन्वय र परिचालनको अभावमा अझै पनि कतिपय नागरिक पीडा, भोक, विस्थापन र असुरक्षाबीच बस्न बाध्य रहेको पार्टीको दाबी छ।

पार्टीले समयमै उद्धार तथा राहत पुग्न सके थप मानवीय क्षति रोक्न सकिने भन्दै प्रभावित नागरिकका गुनासा र अनुभूतिलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेको छ। साथै, विपद्को समयमा सबै संयन्त्र र शक्तिलाई एकीकृत रूपमा परिचालन गर्न नसक्नु सरकारी संयन्त्रको कमजोरी भएको जनाएको छ।

नुवाकोटमा राहत सामग्री हस्तान्तरण

राजनीतिक जिम्मेवारीसँगै मानवीय दायित्वलाई प्राथमिकता दिँदै पार्टीले देशभर राहत संकलन तथा वितरण अभियान सञ्चालन गरिरहेको जनाएको छ।

कार्यवाहक महासचिव जनकबहादुर कार्कीको नेतृत्वमा संकलित राहत सामग्री नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि पठाएर हस्तान्तरण गरिएको छ। नुवाकोटको जनजाति माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टर तथा विदुर नगरपालिकास्थित जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको पार्टीले जनाएको छ।

राहत हस्तान्तरण कार्यक्रममा विजय डंगोल, रेणु डंगोल, सुरेन्द्र प्रधान, राजेन्द्रराम, इन्दु खत्री र प्रेमा मगरलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो। करिब २० जनाको टोली राहत संकलन, ढुवानी तथा वितरणमा प्रत्यक्ष रूपमा खटिएको पार्टीले जनाएको छ।

यसैगरी, उपमहासचिव सुरेन्द्र प्रधानको नेतृत्वमा तथा स्थायी कमिटी सदस्य राजेन्द्ररामको सहभागितामा अर्को टोली रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले प्रभावित नागरिकको अवस्था बुझ्नुका साथै राहतको आवश्यकता पहिचान र उद्धार तथा राहत कार्यमा सहयोग गरिरहेको जनाएको छ।

स्थलगत अवलोकनका क्रममा अझै पनि कतिपय प्रभावित परिवारले पर्याप्त राहत प्राप्त गर्न नसकेको र केही स्थानमा आधारभूत आवश्यकताका सामग्रीको समेत अभाव रहेको पार्टीको दाबी छ। विपत्तिको व्यापकताका तुलनामा हालसम्म संकलित राहत पर्याप्त नभएकाले अभियानलाई थप विस्तार गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।

‘पहिले मानवता, त्यसपछि राजनीति’

पार्टीले बाढी–पहिरोलगायत विपत्तिलाई राजनीतिक, जातीय, धार्मिक वा क्षेत्रीय सीमाभन्दा माथि उठेर मानवीय संकटका रूपमा लिनुपर्ने जनाएको छ।

संकटको समयमा सम्पूर्ण देश एकजुट भएर प्रभावित नागरिकको साथमा उभिनुपर्ने भन्दै पार्टीले राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, युवा तथा विद्यार्थी संगठन, समुदायका अगुवा, उद्योगी–व्यवसायी तथा देश–विदेशमा रहेका नेपालीलाई राहत संकलन र वितरण अभियानमा सहभागी हुन आह्वान गरेको छ।

पार्टीले देशभित्र र विदेशबाट प्राप्त सहयोग, सद्भाव तथा मानवीय समर्पणप्रति आभार व्यक्त गर्दै प्रभावित नागरिकलाई सहयोग गर्नु अहिलेको प्रमुख दायित्व भएको जनाएको छ।

विपत्तिले समाजलाई विभाजित नभई अझ बलियो रूपमा एकताबद्ध बनाउनुपर्ने धारणा राख्दै पार्टीले प्रभावित नागरिकलाई तत्काल राहतसँगै पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा समेत निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

पार्टीले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण प्रक्रियामा प्रभावित नागरिकको साथमा रहने जनाउँदै सबै राजनीतिक मतभेद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ‘पहिले मानवता, त्यसपछि राजनीति’ भन्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ।