प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताएका छन्।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै थापाले नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवनपद्धतिको अनुपम संगम भएको सुन्दर राष्ट्र रहेको उल्लेख गरेका छन्।
उनले दुवै पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
विभिन्न जातजातिका आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज तथा चाडपर्व रहेको उल्लेख गर्दै थापाले भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीले सत्य, न्याय, कर्तव्य, प्रेम, करुणा तथा मानव कल्याणका आदर्शलाई आत्मसात् गर्ने प्रेरणा दिने बताएका छन्।
त्यस्तै, सुदूरपश्चिमको समृद्ध मौलिक संस्कृति, आस्था र परम्परासँग अभिन्न रूपमा जोडिएको गौरा पर्व सांस्कृतिक गौरव, सामाजिक एकता तथा पारिवारिक आत्मीयताको जीवन्त प्रतीक रहेको उनको भनाइ छ।