logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

रसुवा–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
रसुवा–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

काठमाडौँ / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठित समितिमा संघीय मामिला महाशाखा, पूर्वाधार मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, जिल्ला प्रशासन, स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भूमि प्रशासन तथा नापी कार्यालयका प्रतिनिधि सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले सदस्य–सचिव रहेका छन्।

मन्त्रालयका अनुसार समितिले बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बस्न जोखिमपूर्ण भएका तथा जोखिमका बाबजुद प्रभावित क्षेत्रमा बसिरहेका परिवारको यथार्थ विवरण संकलन तथा पहिचान गर्नेछ।

समितिले पुनःस्थापनाका लागि आवश्यक जग्गा छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियाबारे अध्ययन गरी सुझाव तथा सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।

सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पहिचान गरिएका जग्गाको भौगोलिक अवस्था, बाढी तथा पहिरोको जोखिम, बसोबासका लागि उपयुक्तता र आवश्यक पूर्वाधारलगायत विषयको अध्ययन गरी पुनःस्थापनाका लागि उपयुक्त स्थान सिफारिस गरिने मन्त्रालयले जनाएको छ।