प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र २१, आईतबार
काठमाडौँ / बाढीपहिरोमा सर्वस्व गुमाएर काखे नानी च्याप्दै सरकारसँग गुहार र आक्रोश पोख्ने एक पीडित महिलामाथि सामाजिक सञ्जालमा भएको अमर्यादित, क्षुद्र र अश्लील टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले नै तीव्र असन्तुष्टि जनाएका छन्।
सरकार र पार्टी नेतृत्वको बचाउ गर्ने नाममा आफ्नै समर्थक तथा कार्यकर्ताहरूले अमानवीय रूपमा सामाजिक सञ्जालमा विषवमन गरेपछि रास्वपाका शीर्ष एवं युवा नेताहरू सार्वजनिक रूपमै लज्जित बन्दै आपत्ति जनाउन बाध्य भएका हुन्।
यसअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत पीडितहरूको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै त्यसमाथि लाञ्छना लगाउनेहरूलाई ‘अपराधी’ को संज्ञा दिँदै कडा चेतावनी दिएका थिए।
प्रधानमन्त्री बालेन शाह लेख्छन् :- “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्, ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।”
प्रधानमन्त्रीको उक्त चेतावनीपछि पनि सामाजिक सञ्जालमा कार्यकर्ताहरूको असभ्य टिप्पणी नरोकिएपछि रास्वपा सांसद निशा डाँगीले पीडित महिलाको पक्षमा उभिँदै आफ्नै समर्थकहरूको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।
सांसद निशा डाँगी लेख्छिन् :- “ती महिलाले कुनै ‘तमासा’ देखाएकी होइनन्, आफ्नो पीडा र असहायपन व्यक्त गरेकी हुन्। विपत्तिको बीचमा पीडितमाथि नै यसरी हेट कमेन्ट गर्ने अधिकार हामीलाई कसले दियो? सरकारको कामको मूल्याङ्कन पछि पनि गर्न सकिन्छ तर विपद्मा परेका नागरिकको चित्कारलाई अपमानित गर्ने छुट कसैलाई छैन।”
त्यस्तै, रास्वपा नेतृ रञ्जु दर्शनाले विपद्को पीडामा परेका नागरिकमाथि खिसीट्युरी गर्नु अमानवीय भएको उल्लेख गर्दै कार्यकर्ताहरूलाई संवेदनशीलता देखाउन आग्रह गरेकी छन्।
सांसद दर्शना लेख्छिन् :- “हाम्रो जीवनमा अकल्पनीय र अन्यायपूर्ण केही भयो भने भगवान्सँग त हामी रिसाउँछौँ, झोक्किन्छौँ। यसरी कसैको पीडामाथि खिसीट्युरी गर्दै अशोभनीय टिप्पणी गर्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। पीडितको आक्रोशभित्र आशा र जीवनको पुकार लुकेको हुन्छ, त्यसको सम्मान गर्न सिक्नुपर्छ।”
रास्वपा नेतृ क्रान्तिशिखा धितालले विपद्को संवेदनशीलतालाई राजनीतिक रङ्ग दिएर सामाजिक सञ्जालमा तल्लो तहको हर्कत देखाउने प्रवृत्तिको विरोध गरेकी छन्।
रास्वपा सचेतक धिताल लेख्छिन् :- “विपद्को पीडामा छटपटाइरहेका नागरिकको चित्कारलाई कुनै राजनीतिक दल वा गुटको चस्माबाट हेर्नु सरासर अमानवीयता हो। पार्टी र नेतृत्वको अन्धसमर्थनको नाममा पीडितमाथि नै तल्लो स्तरको गालीगलौजमा उत्रिनु राजनीतिक विवेकहीनताको पराकाष्ठा हो। यस्तो असभ्य र असंवेदनशील डिजिटल प्रवृत्तिले हाम्रो पार्टीको आधारभूत मूल्यमान्यतालाई नै लज्जित बनाएको छ।”
पार्टीका नेता तथा सांसद गणेश कार्कीले समेत यस्तो अमर्यादित प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अन्धसमर्थकहरूलाई पार्टीको वास्तविक शुभेच्छुक मान्न नसकिने स्पष्ट पारेका छन्।
सांसद गणेश कार्की लेख्छन् :- “विपद्मा परेका नागरिकहरूको आँसु र आक्रोशलाई स्वाभाविक रूपमा लिएर मल्हम लगाउनुपर्ने समयमा कथित समर्थकहरूले गरेको क्षुद्र टिप्पणीले सिङ्गो समाजलाई लज्जित बनाएको छ। कसैको व्यक्तिगत पीडा र संवेदनामाथि प्रहार गरेर पार्टीको बचाउ हुन्छ भन्ने भ्रम पाल्नु ठूलो मूर्खता हो। यस्तो अशिष्ट र अमर्यादित व्यवहार प्रदर्शन गर्नेहरूलाई पार्टीको वास्तविक शुभेच्छुक मान्न सकिँदैन।”
नागरिकको आँसु र चित्कारप्रति आफ्नै समर्थकहरूले देखाएको यस ट्रोल प्रवृत्तिले पार्टीभित्रै गम्भीर नैतिक संकट खडा गरेपछि नेताहरूले सार्वजनिक रूपमै कार्यकर्ताहरूलाई आत्मालोचना र सचेत गराउनुपर्ने अवस्था आएको हो।