प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र २२, सोमबार
काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने तयारीमा जुटेका छन्।
आइतबार बसेको पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा विपद्का बेला पार्टी नेतृत्व स्वयं प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्नुपर्ने सुझाव आएपछि प्रचण्ड र नेपाल फिल्डमा जाने तयारी गरेका हुन्।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछि नेकपाले आकस्मिक बैठक बोलाएर पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई खोज, उद्धार र राहत वितरणमा परिचालन हुन निर्देशन दिएको थियो।
यसअघि बागमती प्रदेशका इन्चार्ज डा. गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज तथा उद्धार समन्वय समिति गठन गरिएको थियो। बाढी आएको दिन नै संगठन विभाग प्रमुख वर्षमान पुन, नेता नन्दकिशोर पुन ‘पासाङ’ लगायतका नेताहरू नुवाकोट पुगेका थिए।
त्यसैगरी बागमती प्रदेशका अर्थ मामिला मन्त्री सरल सहयात्री पौडेल र पूर्वआन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठलगायत नेताहरू भदौ ११ गते प्रभावित क्षेत्रमा पुगेका थिए।
नेता गङ्गाका अनुसार प्रभावित क्षेत्रमा पुगेर वस्तुगत अवस्था, पीडितका समस्या तथा आवश्यकताबारे जानकारी लिइसकेपछि पार्टी नेतृत्व पनि फिल्डमा उपस्थित हुनुपर्ने सुझाव बैठकमा आएको हो।
सरकारका प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीहरू तथा विभिन्न दलका नेताहरू प्रभावित क्षेत्रमा पुगेकाले आफ्नो पार्टीको नेतृत्वको उपस्थिति पनि आवश्यक रहेको निष्कर्षसहित प्रचण्ड र नेपाल प्रभावित क्षेत्रमा जाने तयारीमा रहेको उनले बताए।