प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र २४, बुधबार
काठमाडौँ / प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन्।
त्यसअघि मन्त्री गौतमले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले प्रस्तावमाथि कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएपछि मन्त्री गौतमले विधेयक सभामा प्रस्तुत गरेकी हुन्।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले नेपाल कानुन आयोगलाई कानुन तर्जुमा तथा कानुनसम्बन्धी अध्ययन–अनुसन्धानको क्षेत्रमा उत्कृष्ट निकायका रूपमा विकास गर्न विद्यमान कानुन पर्याप्त नभएकाले संशोधन आवश्यक परेको बताइन्।
आयोगको संरचना र कार्यक्षेत्रमा आवश्यक परिमार्जन गर्दै समग्र कार्यसम्पादनको स्तर सुधार गर्ने उद्देश्यले मौजुदा ऐन संशोधन गर्न विधेयक ल्याइएको उनले स्पष्ट पारिन्।
यसअघि बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।