logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

बाढीले पुल बगाएपछि फड्के बनाएर मनास्लु पदमार्ग पुनःसञ्चालन

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
बाढीले पुल बगाएपछि फड्के बनाएर मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा /  मनास्लु पदमार्गअन्तर्गत दुई स्थानका पुल बाढीले बगाएपछि स्थानीयले फड्के निर्माण गरेर पदमार्ग पुनःसञ्चालनमा ल्याएका छन्।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि काठको फड्के निर्माण गरी अवरुद्ध पदमार्गमा अस्थायी रूपमा आवतजावत खुलाइएको हो।

वडाध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार थेराङ खोलामा आएको बाढीले नाम्रुङस्थित फलामे पुल बगाएको थियो। त्यसैगरी बूढीगण्डकीमा आएको बाढीले सुक्समस्थित झोलुङ्गे पुलसमेत बगाएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सुक्सम क्षेत्रमा पहिरोले बाटोसमेत बगाएपछि सोमबार र मंगलबार वैकल्पिक बाटो खनी सुराङ खोलामाथि फड्के निर्माण गरिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो।

काठका मुढा तेस्र्याएर दुवैतर्फ बार लगाई फड्के बनाइएको हो। फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ पुग्ने वैकल्पिक बाटोसमेत निर्माण गरिएको छ।

थेराङ खोलामा आएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् आयोजना र एउटा पुल बगाएको थियो। बाढीका कारण बूढीगण्डकीको बहाव बढ्दा सुक्समस्थित झोलुङ्गे पुल पनि बगेको थियो। पहिरोले बाटोसमेत क्षति पुर्‍याएपछि मनास्लु पदमार्ग अवरुद्ध बनेको थियो।