प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र २४, बुधबार
काठमाडौँ / कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दामा फरार रहेका सर्लाहीका एक प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुरका ५० वर्षीय अशोक कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा उनलाई भदौ २३ गते ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो।
यादवलाई सर्लाही जिल्ला अदालतबाट कुटपिट तथा अङ्गभङ्ग कसुरमा म्याद थप अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ। उनीमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २५ गते यादवसहितका प्रतिवादीले कविलासी नगरपालिका–८ अगर्वामा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरी घाइते बनाएका थिए। उनीहरूले नेपाल प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरी फरार भएका थिए।
प्रहरीका अनुसार यादव यसअघि पनि राज्यविरुद्धको कसुर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसुर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रवलगायत विभिन्न ११ वटा कसुरमा अनुसन्धानमा परिसकेका छन्।