logo
२०८३ भाद्र २६, शुक्रबार |
📰
🔍

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको तयारी

प्रभातफेरी अनलाइन१  पटक पढिएको | ९ मिनेट अघि
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको तयारी

काठमाडौँ / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन्।

जनकपुरधाममा मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनसम्बन्धी सुझाव तथा पृष्ठपोषण कार्यक्रममा मन्त्री पोखरेलले समयअनुकूल र विद्यार्थीको आवश्यकता सम्बोधन गर्नेगरी पाठ्यक्रम परिमार्जनको काम भइरहेको जानकारी दिए।

हालको पाठ्यक्रममा व्यापक सुधार आवश्यक देखिएकाले कार्यदल गठन गरी देशभरका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा अन्य सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको उनले बताए। प्राप्त सुझावका आधारमा कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ।

मन्त्री पोखरेलले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगलाई समेत नयाँ पाठ्यक्रममा समेट्नुपर्ने बताए। किताबी ज्ञानमा मात्र सीमित नरही विद्यार्थीलाई व्यावहारिक तथा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले पाठ्यक्रम निर्माण गर्न लागिएको उनले स्पष्ट पारे।

विद्यालय शिक्षासँग सम्बन्धित समस्या समाधानका लागि सरकारले विद्यालय शिक्षा ऐनसमेत छिट्टै ल्याउने तयारी गरिरहेको बताउँदै उनले ऐन कार्यान्वयनपछि विद्यालय तहका विभिन्न समस्या समाधान हुने विश्वास व्यक्त गरे।