logo
२०८३ भाद्र ३१, बुधबार |
📰
🔍

तारकेश्वर–६ मा रु. २,५०० मा ग्यास बिक्रीको विवाद, अनुगमनका क्रममा एक जना प्रहरी नियन्त्रणमा

प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
तारकेश्वर–६ मा रु. २,५०० मा ग्यास बिक्रीको विवाद, अनुगमनका क्रममा एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं / नेपाल ग्यास उद्योगले हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रतिसिलिन्डर ग्यासको मूल्य रु. २,०६० तथा रु. १०५.३८ ढुवानी खर्चसहित जम्मा रु. २,१६५.३८ मा बिक्री–वितरण गर्न बिक्रेतालाई आग्रह गरेको छ। उद्योगले तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गरेको प्रमाणित भएमा अधिकृत बिक्रेतामाथि समेत कारबाही हुन सक्ने चेतावनी दिएको छ।

तर, तारकेश्वर नगरपालिका–६, धर्मस्थली फाँटस्थित श्रीकृष्ण किराना पसलमा प्रतिसिलिन्डर रु. २,५०० मा ग्यास बिक्री भइरहेको भेटिएको बजार अनुगमन टोलीको दाबी छ।

ग्यास महँगोमा बिक्री भइरहेको गुनासोपछि तारकेश्वर नगरपालिकाबाट खटिएको बजार अनुगमन टोली उक्त स्थानमा पुगेको थियो। टोलीमा नगरपालिकाका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा सञ्चारकर्मी सहभागी थिए।

अनुगमनका क्रममा टोलीले ग्यास रु. २,१६५.३८ भन्दा बढीमा बिक्री नगर्न आग्रह गरेपछि पसल सञ्चालक पक्षसँग विवाद उत्पन्न भएको थियो।

अनुगमन टोलीका अनुसार सो क्रममा टोलीमाथि दुर्व्यवहारसमेत भएको थियो। घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुगमन टोलीले रु. २,५०० मा ग्यास बिक्री गरिएको देखिने भिडियो प्रमाणसमेत रहेको जनाएको छ। यदि उक्त मूल्यमा बिक्री भएको पुष्टि भएमा तोकिएको बिक्री मूल्यभन्दा प्रति सिलिन्डर रु. ३३४.६२ बढी लिएको देखिन्छ।

ग्यास उद्योग पक्षबाट समेत काठमाडौं उपत्यकामा रु. २,१६५ भन्दा बढीमा बिक्री नगर्न निर्देशन दिइएको अवस्थामा तारकेश्वर–६ मा भएको यो घटनाले अभाव र संकटको मौका छोपेर उपभोक्ताबाट मनपरी मूल्य असुल भइरहेको हो कि होइन भन्ने प्रश्न उठाएको छ।

 

स्मरण रहोस् जति नै बजार अनुगमन भए पनि उपभोक्ता कालोबजारीयाबाट ठगिन छोडेको छैन । अनुगमन टोलिको आँखा अघिल्तिर ग्यास को कालोबजारी भइ रहदा अनुगमन टोलि बेखबर छ । आजैसाझ २६ सय तिरेर बल्ल २ हप्ता पछि चुलो बल्ने भो भन्दै पिडा सुनाउदैं थिए उपभोक्ता । उहाँ भन्दै हुनुहुन्थ्यो पुर्ब सूचना दिएर अनुगमन गर्न आउछन् अनि कहाँ भेटिन्छ कालोबजारी !