logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

कांग्रेस केन्द्रीय सदस्य मनोनीत मिश्रको प्रतिबद्धता– ‘जनजनको बीचमा रहेर काम गर्छु’

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन ३, शनिबार
कांग्रेस केन्द्रीय सदस्य मनोनीत मिश्रको प्रतिबद्धता– ‘जनजनको बीचमा रहेर काम गर्छु’

काठमाडौं / नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य मनिष कुमार मिश्रले पार्टीले परम्परागत शैलीभन्दा फरक, सकारात्मक सोच र परिणाममुखी ढंगले अघि बढ्नुपर्ने बताउनुभएको छ।

केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएपछि धारणा सार्वजनिक गर्दै मिश्रले पछिल्लो राजनीतिक परिस्थितिले बलियो कार्यान्वयन क्षमता भएको नेतृत्व र जनताले अपनत्व महसुस गर्ने राजनीतिक संस्कार खोजिरहेको बताउनुभयो।

मिश्रले पार्टी सभापति गगनकुमार थापासहित कांग्रेसका अग्रज नेता तथा समायोजन समितिमा रहेका अर्जुननरसिंह केसी, उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्माप्रति आभार व्यक्त गर्नुभएको छ।

यसअघि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेर गाउँ–गाउँसम्म पुगेर मधेशका समस्या बुझ्ने र समाधानका लागि पहल गरेको स्मरण गर्दै उहाँले अब देशको तल्लो तहदेखि सगरमाथाको चुचुरोसम्म फरक शैली, सकारात्मक सोच र परिणाममुखी दृष्टिकोणका साथ काम गर्नुपर्ने बताउनुभयो।

मिश्रले आफू ‘कुन पार्टी राम्रो र कुन पार्टी खराब’ भन्ने बहसमा अल्झिनुभन्दा जनताको अपेक्षाअनुसार काम गर्ने पक्षमा रहेको बताउनुभयो। उहाँका अनुसार अहिले देशले घिसिपिटी राजनीतिक शैलीभन्दा बलियो कार्यान्वयन र जनतासँग जोडिएको नेतृत्व खोजिरहेको छ।

‘करिब दुई दशकपछि आफ्नै घरमा फर्किएँ’

मिश्रले आफ्नो राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको उल्लेख गर्दै करिब दुई दशक मधेशवादी राजनीतिक दलमा रहेर काम गरेपछि पुनः कांग्रेसमा फर्किएको बताउनुभयो।

उहाँले वर्तमान नेतृत्वकै कारण कांग्रेसमा फर्किने निर्णय गरेको उल्लेख गर्दै विगतमा कांग्रेसको अनुदार व्यवहारका कारण मधेशमा पार्टीले धेरै कुरा गुमाएको धारणा राख्नुभयो। अहिले मधेशले पुनः नेपाली कांग्रेसलाई खोजिरहेको उहाँको दाबी छ।

मिश्रले सभापति गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको सोच तथा नेतृत्वले मधेशमा नयाँ राजनीतिक जनलहर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले मधेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकाससँगै राजनीतिक सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै कांग्रेस र मधेशबीचको सम्बन्ध थप बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

नयाँ जिम्मेवारीलाई पदका रूपमा मात्र नभई जनताको पक्षमा काम गर्ने अवसरका रूपमा लिएको बताउँदै मिश्रले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन तथा जनताको बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।