प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
काठमाडौं / जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ।
बढ्दो जलवायु परिवर्तन र त्यसबाट नेपालमा परिरहेको प्रभावलाई मध्यनजर गर्दै मन्त्रालयले वर्तमान आवश्यकता सम्बोधन गर्ने गरी नयाँ शाखा स्थापना गर्ने निर्णय गरेको हो।
मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत **‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’**को संरचनामा उक्त शाखा रहने व्यवस्था गरिएको छ। शाखाको नेतृत्व उपसचिवले गर्नेछन्।
नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएको छ। अब ती प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउन नयाँ शाखाले भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।
शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग आवश्यक समन्वय गर्नेछ।
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए।
‘नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु कूटनीतिका विषयमा निरन्तर काम गर्दै आएको छ। अब यसलाई थप संस्थागत रूपमा अघि बढाउन आवश्यक छ,’ मन्त्री खनालले भने, ‘कोपदेखि कोपसम्म वा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउने विषयमा मात्र केन्द्रित भएर जलवायु कूटनीति अघि बढाएर पुग्दैन।’