logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री थापा

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री थापा

धनगढी / सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रदेश सरकारले नागरिक सहभागिता अभिवृद्धिलाई नीति तथा कार्यक्रममै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ।

सुदूरपश्चिममा नागरिक सहभागिता अभिवृद्धिका लागि गठन गरिएको Multi Stakeholder Civic Engagement Advocacy Platform का सदस्यहरूका लागि धनगढीमा आयोजित दुई दिने तालिमको उद्घाटन गर्दै मन्त्री थापाले लोकतन्त्रमा नागरिक शिक्षा अपरिहार्य रहेको बताउनुभयो।

 

सरकार र नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउन नागरिक सहभागितासम्बन्धी प्लेटफर्म प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मन्त्री थापाले सामाजिक विकास मन्त्रालय नागरिक सहभागिता अभिवृद्धिका लागि काम गर्ने प्लेटफर्मसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।

उहाँले प्रदेश युवा परिषद्लाई थप बलियो बनाउने योजना रहेको जानकारी दिँदै बजेट निर्माणको प्रक्रियामा रहेकाले आवश्यक सुझाव तथा योजना पेश गर्न प्लेटफर्मका सदस्यलाई आग्रह गर्नुभयो।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रममा युएनडिपी नेपालका युवराज आचार्यले Multi Stakeholder Civic Engagement Advocacy Platform को उद्देश्य, गठन प्रक्रिया तथा आगामी कार्यबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा युवा परिषद् सदस्य प्रतीक्षा ओलीको पनि उपस्थिति थियो।

दुई दिनसम्म सञ्चालन हुने तालिममा युएनडिपी नेपालका युवराज आचार्य, इना केरुङ र बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले विभिन्न विषयमा सहजीकरण गरिरहनुभएको छ।

स्वीस सरकार विकास सहयोग (SDC) को सहयोग तथा युएनडिपी नेपालको साझेदारीमा बास नेपालद्वारा सञ्चालित लोकतान्त्रिक सहभागिता प्रवर्द्धनका लागि नागरिक संलग्नता अभिवृद्धि परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो। तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका २५ जना प्लेटफर्म सदस्य सहभागी छन्। तालिम असोज ५ गतेसम्म सञ्चालन हुनेछ।