प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / प्रतिनिधिसभाले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता सर्वसम्मतिले अनुमोदन गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सम्झौताअनुसार आवश्यक कानुन समयमै निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले प्राकृतिक विपत्तिलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्ने बताउँदै विधेयकको मस्यौदा तयार गर्दा आदिवासी जनजातिका मौलिक विषय समेट्न सरकार तयार रहेको उल्लेख गरिन्।
जलवायु परिवर्तन र वातावरणसम्बन्धी विषयमा संसद् एकमत भएर अघि बढेकोमा उनले धन्यवाद दिइन्। दलीय सीमाभन्दा माथि उठेर विषयकेन्द्रित छलफल गर्दा कानुन अझ प्रभावकारी बन्ने उनको भनाइ थियो।