प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
नुवाकोट / नुवाकोटको विदुर नगरपालिकाले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको पुनःउत्थानका लागि वडा नं. २ स्थित राममन्दिर क्षेत्रसहित आसपासको एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गामा नयाँ बस्ती निर्माणको प्रस्ताव गरेको छ।
प्रस्तावित क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत सरोकारवालाले स्थलगत अवलोकन गरेका छन्।
सो क्रममा विदुर नगरप्रमुख राजन श्रेष्ठले प्रस्तावित क्षेत्रमा बस्ती निर्माणको सम्भाव्यता, अवसर तथा चुनौतीबारे जानकारी गराएका थिए। उक्त क्षेत्र बाढी, पहिरोलगायत विपद्का दृष्टिले सुरक्षित रहेकाले बस्ती निर्माणका लागि उपयुक्त रहेको र संघीय सरकारको पुनर्निर्माणसम्बन्धी निर्णयपछि काम अघि बढाउन सकिने मुख्यमन्त्रीसहितका मन्त्रीहरूले बताएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्री पौडेलका अनुसार पुनर्निर्माणका लागि आवश्यक कार्यविधि बनेमा करिब एक हजार घर निर्माण गर्न बागमती प्रदेश सरकारले बजेट विनियोजन गर्न सक्ने भएकाले तत्काल काम अघि बढाउन सकिनेछ।