प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
वीरगञ्ज / नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले कारबाहीस्वरूप कलेज परिसर र छात्रावास खाली गर्न दिएको १२ घण्टे समयसीमा प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरेको छ।
कलेजले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले भारी वर्षा तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै जारी गरेको सतर्कता सूचनाका आधारमा सम्बन्धित आवासीय चिकित्सकको सुरक्षाका लागि समयसीमा स्थगित गरिएको जनाएको हो। अवस्था सामान्य भएपछि कलेज परिसर तथा छात्रावास खाली गर्ने नयाँ समयसीमा तोकिने कलेज प्रशासनले जनाएको छ।
कलेजका अनुसार पीजी प्रथम वर्षमा अध्ययनरत केही आवासीय चिकित्सकका गतिविधिका कारण शैक्षिक गतिविधि, क्लिनिकल प्रशिक्षण तथा स्वास्थ्य सेवा प्रभावित भएको छ। प्रशासनले कलेज, शिक्षक तथा फ्याकल्टीविरुद्ध एकतर्फी तथा भ्रामक प्रचारप्रसार भइरहेको दाबी गरेको छ।
सम्बन्धित विद्यार्थीलाई यसअघि नै सचेत गराउँदै सुधारका लागि अवसर दिइएको तर गतिविधि जारी रहेपछि आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया अघि बढाइएको कलेज प्रशासनको भनाइ छ।