प्रभातफेरी अनलाइन२८ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
काठमाडौँ / प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उनले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारीसमेत थपिएकाले कानुनी एकरूपता कायम गर्न विधेयक ल्याउनुपरेको बताइन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफ्साना बानुले महिलाको सम्मान र सशक्तीकरणबिना राष्ट्रको समृद्धि सम्भव नरहेको भन्दै विधेयकप्रति समर्थन जनाइन्। सोही पार्टीका सांसद यज्ञमणि न्यौपानेले विधेयकले राज्यबाट न्याय पाउने अनुभूति गराउने धारणा राखे।
नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले विधेयक ल्याउनुको औचित्य र कारण स्पष्ट हुनुपर्ने बताए। नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले असहाय नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताको निरन्तरतामा जोड दिइन्।
बैठकमा अन्य सांसदहरूले पनि विधेयकमाथि आ–आफ्ना धारणा राखेका थिए।