logo
२०८३ आश्विन १२, सोमबार |
☰
📰
🔍
✕

हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : थप २ शव भेटिए, मृतकको संख्या ४ पुग्यो

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : थप २ शव भेटिए, मृतकको संख्या ४ पुग्यो

मनाङ / मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै घटनामा हालसम्म चार जनाको शव उद्धार गरिएको छ।

भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ नेपालीमध्ये १० जना आइतबार साँझ सकुशल फु गाउँ पुगेका थिए। बाँकी १२ जना भने हिमपहिरोपछि सम्पर्कविहीन भएका थिए।

यसअघि उद्धार गरिएका दुई जनाको शव प्रदेश अस्पताल चामे, मनाङमा ल्याएर सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरू संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेबि भोटे र वडा नं. २ का ३१ वर्षीय पासाङ भोटे हुन्।

सोमबार बिहान ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव प्रदेश अस्पताल चामे ल्याइएको छ। ती शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दुर्गम क्षेत्रमा पर्छ। सम्पर्कविहीन अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।