प्रभातफेरी अनलाइन२९ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
काठमाडौँ / नेपाली कांग्रेसको आगामी असोज १८ गतेदेखि काठमाडौँमा हुने १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशनका लागि काठमाडौँको खुलामञ्चमा उद्घाटन तथा बन्दसत्रका लागि मञ्च र हल निर्माणको काम भइरहेको छ।
कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको संयोजकत्वमा रहेको समारोहस्थल व्यवस्थापन समितिले मञ्च व्यवस्थापनको काम अघि बढाएको हो। कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीका अनुसार उद्घाटन सत्रका लागि मुख्य मञ्च तथा बन्दसत्रका लागि तीनवटा छुट्टाछुट्टै हल निर्माण भइरहेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुने जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा सोसलिष्ट इन्टरनेशनलका प्रतिनिधिलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो। महाधिवेशनमा देश तथा विदेशबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।
असोज १९ गतेदेखि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रका लागि करिब २ हजार ५०० प्रतिनिधि अट्ने गरी तीनवटा हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भइसकेको छ।
बन्दसत्रको पहिलो दिन पार्टी सभापति गगनकुमार थापाले दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ। साथै उपसभापति, महामन्त्री र कोषाध्यक्षले क्रमशः नीतिगत, साङ्गठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपमा खानाको व्यवस्था गरिएको छ भने खुलामञ्चमा सरसफाइ कायम राख्न खाना तथा खाजा निषेध गरिएको छ। प्रतिनिधिका लागि न्यूनतम शुल्कमा आवासको व्यवस्था तथा सञ्चारकर्मीका लागि खुलामञ्च नजिकै मिडिया सेन्टर स्थापना गरिने कांग्रेसले जनाएको छ।
महाधिवेशन अवधिभर पार्टी प्रवक्ता देवराज चालिसेले दैनिक दुईपटक ब्रिफिङ गर्ने तथा बन्दसत्रमा सञ्चारकर्मीका लागि पालैपालो प्रवेशको व्यवस्था मिलाइने उपसभापति शर्माले जानकारी दिनुभयो।