प्रभातफेरी अनलाइन४५ पटक पढिएको | २०८३ आश्विन २०, मंगलबार
बनेपा / मंगलबार पत्रकार सम्मेलन गरेर श्री सङ्कीर्तन महोत्सव २०८३ का बारेमा जानकारी गराइएको छ। विज्ञप्तिमार्फत जानकारी गराउँदै आचार्य नारायण प्रपन्नले महोत्सवका उद्देश्य, कार्यक्रम तथा भावी योजनाबारे खुलासा गर्नुभएको हो।
विज्ञप्तिमा भनिएको छ :
श्री सङ्कीर्तन महोत्सव २०८३ भक्ति, सङ्कीर्तन, संस्कृतिको संरक्षण तथा आध्यात्मिक चेतनालाई केन्द्रमा राखिएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम हो। विशेषतः युवा पुस्तालाई आफ्नो मौलिक धर्म, संस्कृति, संस्कार तथा वैदिक परम्परासँग जोड्दै समाजमा सकारात्मक सोच, आध्यात्मिक चेतना, आपसी सद्भाव र सामाजिक एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमका प्रमुख उद्देश्यहरू निम्न रहेका छन्-
आधुनिक जीवनशैली र तीव्र सामाजिक परिवर्तनका कारण मौलिक धर्म, संस्कृति, संस्कार तथा परम्पराप्रतिको नयाँ पुस्ताको सम्बन्ध कमजोर हुँदै गएको अवस्थामा भक्ति, सङ्कीर्तन, संस्कृतिको संरक्षण र आध्यात्मिक चेतनालाई जनस्तरसम्म पुर्याउनु आवश्यक देखिन्छ।
यसै सन्दर्भमा धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत युवा, विद्यार्थी तथा आमसमुदायलाई सकारात्मक जीवनदृष्टि, नैतिक मूल्य र आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले यस महोत्सवलाई अघि बढाइएको हो।
मितिः २०८३ साल असोज २५ गते घटस्थापनाको दिन
स्थानः बनेपा नगरपालिका–८, लायकु मञ्च
समयः दिउँसो १:०० बजे देखि
महोत्सवमा मुख्यतः निम्न कार्यक्रमहरू समावेश रहनेछन्-
राष्ट्रिय तथा स्थानीय धार्मिक कलाकारहरूको प्रस्तुति रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।
भक्तिमय तथा आध्यात्मिक वातावरणमा सामूहिक सहभागिता रहनेछ।
कार्यक्रममा विशेषतः युवा, विद्यार्थी, धर्मगुरु, संस्कृतिप्रेमी, समाजसेवी तथा सम्पूर्ण भक्तजनलाई लक्षित गरिएको छ। साथै, धर्म, संस्कृति र आध्यात्मिकताप्रति आस्था राख्ने सम्पूर्ण आमसमुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिनेछ।
कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी रूपमा सम्पन्न गर्न आयोजक संस्थाले स्वयंसेवक परिचालन, मञ्च तथा कार्यक्रम व्यवस्थापन, प्रचारप्रसार, अतिथि सत्कार, सुरक्षा तथा आवश्यक अन्य व्यवस्थापनका लागि तयारी गरिरहेको छ।
कार्यक्रमको आर्थिक व्यवस्थापन भक्तजन, शुभेच्छुक, सहयोगी तथा सम्बन्धित पक्षबाट प्राप्त सहयोगमा आधारित रहनेछ। प्राप्त सहयोग तथा खर्चलाई पारदर्शी रूपमा व्यवस्थापन गर्ने प्रतिबद्धता आयोजक संस्थाको रहेको छ।
यस महोत्सवमार्फत धर्म तथा संस्कृतिप्रति सकारात्मक चेतनाको विकास, युवा पुस्तामा आध्यात्मिक तथा नैतिक मूल्यको अभिवृद्धि, सामाजिक सद्भाव र एकताको प्रवर्द्धन तथा स्थानीय धार्मिक सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
महोत्सवले विभिन्न समुदाय, उमेर समूह तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई एउटै आध्यात्मिक तथा सांस्कृतिक मञ्चमा जोड्दै आपसी सद्भाव, सहिष्णुता, भाइचारा र सामाजिक एकतालाई मजबुत बनाउने विश्वास लिइएको छ।
साथै, स्थानीय कला, संस्कृति तथा प्रतिभालाई प्रोत्साहन गर्दै सांस्कृतिक जागरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका लागि आवश्यक खर्च आयोजक संस्था, भक्तजन, शुभेच्छुक तथा सहयोगी महानुभावहरूबाट प्राप्त सहयोगमार्फत व्यवस्थापन गरिनेछ। कार्यक्रमको अनुमानित बजेट तथा वास्तविक आय–व्ययलाई प्रचलित व्यवस्थाअनुसार व्यवस्थित र पारदर्शी रूपमा प्रस्तुत गरिनेछ।
वैदिक अनुसन्धान फाउण्डेशनले काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल क्षेत्रभित्र नेपाली प्यागोडा तथा दक्षिण भारतीय वास्तुशैलीको समन्वयमा एक भव्य मन्दिर धामसहितको वैदिक अनुसन्धान केन्द्र स्थापना गर्ने दीर्घकालीन योजना अघि सारेको छ।
उक्त धामलाई वेद, संस्कृत, दर्शन तथा सनातन संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवर्द्धनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ।
सञ्चारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै आचार्य नारायण प्रपन्नले धार्मिक अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको समेत खुलासा गर्नुभएको छ।
श्री सङ्कीर्तन महोत्सव २०८३ कुनै एक संस्था वा समूहको मात्र कार्यक्रम नभई धर्म, संस्कृति, आध्यात्मिकता र सामाजिक सद्भावप्रति आस्था राख्ने सम्पूर्ण काभ्रेपलाञ्चोकवासी तथा सनातनी समुदायको साझा अभियानका रूपमा अघि बढाउने आयोजक संस्थाको प्रतिबद्धता रहेको छ।
कार्यक्रमलाई सफल, मर्यादित र प्रभावकारी बनाउन सम्पूर्ण भक्तजन, आमसमुदाय, सञ्चारकर्मी, सामाजिक अभियन्ता, कलाकार, शुभेच्छुक तथा सहयोगी महानुभावहरूको साथ, सहयोग र सहभागिताका लागि हार्दिक आह्वान गरिन्छ।
यो कार्यक्रमको आयोजक श्री वैष्णव युवा परिषद्, काभ्रेपलाञ्चोक, वैदिक अनुसन्धान फाउण्डेशन, श्री वैष्णव युवा परिषद्, काभ्रे शाखा तथा वैदिक अनुसन्धान फाउण्डेसन, काभ्रेको संयुक्त आयोजनामा नेपाली मौलिक धर्म, संस्कृति, संस्कार, वैदिक सनातन परम्परा तथा भक्तिसङ्गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले “श्री सङ्कीर्तन महोत्सव २०८३” आयोजना गर्न लागिएको आचार्य नारायण प्रपन्नले प्रस्ट्याउनुभएको छ।