logo
२०८३ आश्विन २३, शुक्रबार |
☰
📰
🔍
✕

टर्कीको इस्तानबुलमा भवन भत्किँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन २३, शुक्रबार
टर्कीको इस्तानबुलमा भवन भत्किँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु

एजेन्सी / टर्कीको इस्तानबुलमा भवनको तल्लो भाग भासिएर माथिल्ला तला भत्किँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ।

सहरको एसियाली क्षेत्रमा बिहीबार बिहान भएको उक्त दुर्घटनापछि भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबार बिहान ६ः१५ बजे अन्तिम पीडितको शव फेला परेसँगै सम्पन्न भएको गभर्नरको कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा पाँच र १० वर्षका दुई बालिका, १२ वर्षका एक बालक तथा अन्य दुई जना रहेका छन्। भवनको तल्लो तीन तला भासिएपछि माथिका चार तला पनि भग्नावशेषमा परिणत भएका थिए।

इस्तानबुलका उपमेयर नुरी अस्लानका अनुसार उक्त भवन सन् १९८७ मा निर्माण गरिएको थियो। सुरुमा जमिनमुनिको तला, भुइँतला र त्यसमाथि दुई तला निर्माण गरिएको भए पनि पछि थप तला बनाइएको थियो।

दुर्घटनापछि आसपासका क्षेत्रमा बसोबास गर्ने ५५ जनालाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भवनको भुइँतलामा रहेको पसलकी व्यवस्थापकले गत अप्रिलदेखि नै भवनको संरचनामा चिरा देखिएको बताएकी थिइन्।

स्थानीय सञ्चारमाध्यमले कमजोर निर्माण तथा त्रुटिपूर्ण निर्माण सामग्रीका कारण इस्तानबुलमा करिब एक हजार २०० भवन भत्किने जोखिममा रहेको अनुमान गरेका छन्। यसअघि गत अगस्टमा पनि सहरमा एउटा खाली भवन भत्किएको थियो, जसमा कुनै मानवीय क्षति भएको थिएन।