logo
२०८३ आश्विन २३, शुक्रबार |
☰
📰
🔍
✕

अब बिल जारी गर्ने विक्रेतालाई पनि नगद पुरस्कार दिने तयारी, अर्थमन्त्री वाग्लेको निर्देशन

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
अब बिल जारी गर्ने विक्रेतालाई पनि नगद पुरस्कार दिने तयारी, अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभएको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने विक्रेतालाई पनि प्रोत्साहन गर्नुपर्ने बताउनुभएको हो।

सरकारले चालु आर्थिक वर्षदेखि बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्दै आएको छ। यस कार्यक्रमले बिल लिने संस्कारको विकास गर्नुका साथै राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव पारेको देखिएपछि विक्रेतालाई पनि प्रोत्साहन गर्ने तयारी गरिएको हो।

बिल जारी गर्न व्यापारीहरू हिचकिचाएको भन्ने गुनासो आएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बिल दिने संस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले पुरस्कारसम्बन्धी कार्यविधि संशोधन गरी विक्रेतालाई पनि नगद प्रोत्साहन दिने प्रस्ताव तयार गर्न विभागलाई निर्देशन दिनुभएको छ।

करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा दैनिक एक जनालाई एक लाख ३४ हजार रुपैयाँ र एक जनालाई बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ घोषणा गरिँदै आएको छ। आकस्मिक लाभकर कट्टीपछि दैनिक पुरस्कार विजेताले एक लाख रुपैयाँ र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्छन्।

साउन १ देखि असोज १५ गतेसम्म पाँच चरणमा पुरस्कार घोषणा हुँदा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर पुरस्कारस्वरूप जनही सात लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन्।

विभागले समयमै कार्यविधि संशोधन गरेमा असोज १६ देखि मसान्तसम्मको पुरस्कार घोषणामा विक्रेतालाई समेत समेट्ने सम्भावना रहेको छ। यद्यपि, विक्रेताले प्राप्त गर्ने पुरस्कार रकम भने अझै निश्चित भइसकेको छैन।

यस कार्यक्रममा सहभागी हुन उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा सक्कल प्यान वा भ्याट बिल लिनुपर्ने व्यवस्था छ। अनलाइनमार्फत भुक्तानी गर्ने उपभोक्ता स्वतः पुरस्कारका लागि योग्य हुनेछन् भने नगदमा भुक्तानी गरी बिल लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको करदाता पुरस्कार पोर्टलमार्फत बिल अपलोड गर्न सक्नेछन्।