प्रभातफेरी अनलाइन१ पटक पढिएको | २९ मिनेट अघि
काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न बुधबार इच्छुकहरूलाई आह्वान गर्यो।
प्राधिकरणले भदौ १० गतेको त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितहरूको अस्थायी वासस्थान बनाउन इच्छुक संघ संस्था तथा व्यक्तिहरूलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ।
यसरी सरकारी निकायले बाढीपीडितलाई अस्थायी वासस्थान बनाउन आह्वान गर्नुअघि नै नेकपाको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले भने प्रभावितहरूका लागि घर निर्माणलाई तीव्रता दिइरहेको छ।
झण्डै एक महिनादेखि वाइसिएलले संगठित रुपमा प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार र पुनःस्थापनाको काम गरिरहेको केन्द्रीय सदस्य सुरेन्द्र दाहाल बताउँछन्। सुरुका दिनमा हिलो र कंक्रिटले भरिएका घरहरू पन्छाउन, पुरिएका सामान निकाल्न सहयोग गरेको वाइसिएलले अहिले भने बसोवासका लागि अस्थायी टहरा निर्माणमा जुटेको छ।
विपद्पछिको कठिन परिस्थितिमा राहत उद्धार तथा पुनःस्थापनामा लाग्न संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएसँगै आफूहरू प्रभावित क्षेत्रमा आइपुगेको वाइसिएलका बागमती प्रदेश अध्यक्ष नरेश रञ्जित बताउँछन्।
‘पार्टीले निर्देशन दिएसँगै हामी बाढी पीडितहरूलाई सहयोग गर्न धादिङ पुग्यौँ। पछिल्लो दिनमा नुवाकोटको बेलकोटगढीमा काम गरिरहेका छौँ,’ अध्यक्ष रञ्जितले भने।
वाइसिएल नेपालले हाल नुवाकोटको बेलकोटगढी नगरपालिकामा घरबारविहीन भएकाहरूका लागि ट्वाइलेटसहितको दुई कोठे अस्थायी आवास निर्माण गरिरहेको छ। सुरुका दिनदेखि नै फिल्डमा खटिरहेका काठमाडौँ अध्यक्ष रुपेश दंगालका अनुसार वाइसिएलले अहिलेसम्म १५ वटा अस्थायी आवास निर्माण गरिसकेको छ।
जस्तापाता र फलामबाट बनाइएको टहरा २० फिट लम्बाइ र १५ फिट चौडाइका छन्। होल्डिङ सेन्टिर आफन्तको घरमा आश्रय लिइरहेका बाढी पीडितका लागि आफ्नै घरमा फर्काउने योजना वाइसिएलले बनाएको छ।
अस्थायी घर निर्माण भइसकेपछि आवश्यक पर्ने स्टिलको दराज, खाटलगायत दैनिक जीवनका लागि अनिवार्य चाहिने एक सेट सामानसमेत उपलब्ध गराउने योजना रहेको केन्द्रीय सदस्य दाहालले जानकारी दिए।
वाइसिएलले एक सय ५० वटा अस्थायी टहरा निर्माण गर्ने लक्ष्य राखेको छ। आवास निर्माणको कामको संयोजन उपाध्यक्ष हरि ढकालले गरेका छन् भने स्थानीयस्तरमा व्यवस्थापन तथा समन्वय नुवाकोट वाइसिएल अध्यक्ष जलन गजुरेलले गरिरहेका छन्।
संगठन र पार्टीमा आबद्ध भएका व्यक्तिहरू श्रमदानका लागि नुवाकोट पुगेर केही दिन काम गरेर फर्किरहेका छन्। संगठनले श्रमदान गर्न इच्छुकहरूलाई आउनसमेत आग्रह गरेको छ।
भदौ १० गतेको बाढीमा परेर मृत्यु भएका एक हजार ३ सय ७७ जनाको शव फेला परेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन्।
बाढीबाट ७ हजार ५ सय ७० वटा निजी घरमा क्षति पुगेको थियो। जसबाट झण्डै ३३ हजार जना प्रत्यक्ष रुपमा प्रभावित भएका छन्।
बाढीबाट ४ खर्ब ८२ अर्ब ८० करोडभन्दा बढीको क्षति पुगेको सरकारी दाबी छ।