प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ आश्विन २६, सोमबार
चितवन / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधनमार्फत प्रशासनिक झन्झट हटाउँदै लगानीमैत्री वातावरण निर्माण गरिने बताएकी छन् ।
चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै मन्त्री गौतमले कानुनी अस्पष्टताका कारण उद्योगी व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै समयसापेक्ष कानुन संशोधनको तयारी भइरहेको बताइन् ।
“प्रशासनिक झन्झट त्यतिबेला आउँछ, जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ,” उनले भनिन् ।
देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले आवश्यक पूर्वतयारी गरिरहेको जानकारी दिँदै मन्त्री गौतमले हालै लगानीमैत्री कानुनमा गर्नुपर्ने सुधारका विषयमा बृहत् कार्यशाला सम्पन्न भएको बताइन् । कानुन निर्माण तथा सुधारका लागि नीतिनिर्माता, कर्मचारीतन्त्र, निजी क्षेत्र र राजनीतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कानुन निर्माण रातारात सम्भव नहुने उल्लेख गर्दै उनले उद्योगी व्यवसायीले भोग्दै आएका समस्या वर्षौंदेखि थुप्रिएका विषय भएको बताइन् । ती समस्या दीर्घकालीन रूपमा समाधान गर्न कानुन संशोधनको प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारिन् ।
बिना तयारी कानुन संशोधन गर्दा त्यसको मूल्य नेपाली जनताले चुकाउनुपर्ने भन्दै मन्त्री गौतमले पर्याप्त छलफल, संवाद र पूर्वतयारीपछि मात्रै सुधारका काम अघि बढाइने बताइन् । द्रुत प्रक्रियाबाट कानुन निर्माण गर्दा पनि छदेखि आठ महिना लाग्न सक्ने उल्लेख गर्दै उनले सरकार अब कानुन निर्माण तथा संशोधनको चरणमा पुगेको जानकारी दिइन् ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घकी अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीबाट प्रभावित उद्योगहरूको पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने माग गरिन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनिमाधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष भीम घिमिरे, चितवन उद्योग सङ्घका गभर्निङ काउन्सिल अध्यक्ष राजु पौडेल तथा चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरेलगायतले आआफ्ना धारणा राखेका थिए ।