प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन २६, सोमबार
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कुनै पनि किसिमको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थमा नपरी संविधान तथा प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ।
प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई पेशागत सफलताको मुख्य आधारका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले प्रहरी अधिकृतहरूलाई अनुचित दबाब र प्रभावबाट टाढा रही कानुनको पालना गर्दै आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो। साथै, नेपाल प्रहरीको गरिमा र छवि उच्च राख्न पेशागत मर्यादा, नैतिकता र अनुशासनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
करिब १६ महिनाको तालिम पूरा गरेका नवनियुक्त प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।