logo
२०८३ आश्विन २६, सोमबार |
☰
📰
🔍
✕

शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन व्यापक सुधार आवश्यक : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन २६, सोमबार
शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन व्यापक सुधार आवश्यक : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं / नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले विवेकशील, सिर्जनशील, नैतिक र राज्यप्रति जिम्मेवार नागरिक निर्माण गर्न मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताउनुभएको छ।

काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभएको हो।

उहाँले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माताहरूको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रत्येक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी रहने धारणा व्यक्त गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि तथा मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताउनुभयो।

त्यसैगरी, लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न नागरिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले शिक्षा प्रणालीको सुधारसँगै समाजमा पठन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो।