प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्ने निर्णय गरेको छ।
बैठकले बाढीपहिरोबाट अति प्रभावित गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।
विपद् प्रभावित परिवारलाई अस्थायी बसोबास व्यवस्थापनका लागि चार जनासम्म सदस्य भएको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ। वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनासम्म यस्तो सहायता प्रदान गरिने सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो।
बैठकले बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति (गठन चौथो संशोधन) आदेश, २०८३ स्वीकृत गर्ने र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।