प्रभातफेरी अनलाइन० पाठक संख्या | २४ सेकेण्ड अघि
काभ्रे / ‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस २०८३ आज जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपाल प्रहरीलाई समयसापेक्ष, सक्षम, व्यावसायिक र आधुनिक बनाउन आवश्यक रहेको बताउनुभयो।
उहाँले मुलुकको शान्ति सुरक्षा कायम गर्न तथा विपद्का समयमा नागरिकको ज्यान बचाउन नेपाल प्रहरीले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै प्रहरी कर्मचारीको मनोबल उच्च राख्न आवश्यक नीति तथा सेवासुविधामा सुधार गर्नुपर्नेमा जोड दिनुभयो। प्रहरी कर्मचारीका लागि आवास, स्वास्थ्यलगायतका सुविधामा वृद्धि गर्नुका साथै सरुवा र बढुवालाई व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रहरीका सबै कार्यालयलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सके कृत्रिम बौद्धिकता (एआई), डिजिटल फरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डीएनए फरेन्सिकजस्ता क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने बताउनुभयो।
नेपाल प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने उल्लेख गर्दै उहाँले अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन तथा प्रहरीको आचरण र कार्यशैलीलाई थप नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले विपद् उद्धारमा सुरक्षाकर्मीले खेलेको भूमिकाको स्मरण गर्दै प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। प्रहरी दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी अमर प्रहरीप्रति सम्मान व्यक्त गर्नुका साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा प्रहरी उपरीक्षक रविन कार्कीले राष्ट्रसेवकका रूपमा नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा पुर्याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो। त्यसैगरी, प्रहरी नायब उपरीक्षक रविन बिष्टले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै अमर प्रहरीप्रतिको सम्मानले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ७१औँ प्रहरी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशसमेत वाचन गरिएको थियो।
दिवसका अवसरमा अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण, अमर प्रहरीका परिवारलाई सम्मान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो।