प्रभातफेरी अनलाइन७ पटक पढिएको | २१ मिनेट अघि
काठमाडौँ । यमनका हुथी विद्रोहीहरूको आक्रमणपछि दुई सातासम्म बन्द रहेको साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान सेवा पुनः सुरु भएको छ। यद्यपि, हुथी विद्रोहीहरूले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।
उडान अनुगमन गर्ने वेबसाइट ‘फ्लाइटराडार’का अनुसार आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गएको थियो।
रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अक्टोबर २५, आइतबारदेखि लागू हुने गरी टर्मिनल १ बाट आन्तरिक उडान र टर्मिनल २ बाट राष्ट्रिय वायुसेवा कम्पनीद्वारा सञ्चालित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने जानकारी दिएको छ।
साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले पछिल्ला साताहरूमा हुथी विद्रोहीहरूको निरन्तर आक्रमणको सामना गरिरहेका छन्। लामो समयदेखि कायम युद्धविराम भङ्ग भएपछि दुई पक्षबीचको द्वन्द्व थप चर्किएको हो।
हुथी विद्रोहीहरूले यस महिनामा गरेको एउटा आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी मानिस घाइते भएका थिए। उक्त घटना साउदी अरबमा एक दशकभन्दा लामो अवधिपछिको सबैभन्दा घातक आक्रमण भएको बताइएको छ।
हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रियाद विमानस्थल अझै असुरक्षित रहेको दाबी गर्दै यसलाई सैन्य लक्ष्यका रूपमा लिइएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय वायुसेवा कम्पनी, तिनका कर्मचारी र यात्रुलाई विमानस्थल प्रयोग नगर्न चेतावनी दिएका छन्।
यसैबीच, हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ।
यस द्वन्द्वले अमेरिका र इरानबीचको व्यापक तनावलाई थप जटिल बनाउनुका साथै यमनमा विद्यमान मानवीय सङ्कटसमेत गहिरो बनाएको छ।