logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

अधुरो प्रेम, बलिदानी बैँस र क्रान्तिको मूल्य

प्रभातफेरी अनलाइन३ पटक पढिएको | ४६ मिनेट अघि
अधुरो प्रेम, बलिदानी बैँस र क्रान्तिको मूल्य

त्यो एउटा यस्तो प्रेम थियो, जसले क्रान्तिको रातो डढेलोमा आफूलाई यसरी समर्पित गर्‍यो कि प्रेमको आफ्नै सुगन्ध कतिबेला खरानी भयो, पत्तै भएन।

बन्दुकको नालबाट नयाँ युगको प्रभात सिर्जना गर्ने सपना देख्दै गर्दा, आफ्ना मनका कलिला तरङ्गहरू न उनलाई पोख्ने फुर्सद भयो, न त उनका आँखाका नभनिएका भाकाहरू सुन्ने अवसर नै मिल्यो। जनमुक्तिको त्यो कठिन र पथ्रिलो यात्रामा मानिसहरूले आफ्ना साना-तिना व्यक्तिगत सपना मात्र होइन, आफ्नै अस्तित्व र पहिचानसमेत बिर्सिए। राज्यसत्ताको निरङ्कुश जग ढलाएर उत्पीडित जनताको आँगनमा एउटा सुनौलो र समतामूलक बिहानी भित्र्याउने अदम्य सङ्कल्प थियो त्यो। तर, त्यही क्रान्तिको प्रचण्ड वेगमा आफ्ना रहर, उमङ्ग र काँचो बैँस कतिबेला उम्किएर गयो, समयको गोरेटोमा लेखाजोखा नै रहेन।

युद्धभूमिको त्यो बैँसालुपन नै अर्कै थियो। जहाँ अरूका लागि बैँस भनेको रङ्गीन सहर, पार्कका साँझहरू र फुर्सदका गफहरू हुन्थे, त्यहाँ हाम्रो बैँस भनेको भिरको आडमा लुक्दै एक-अर्काको हातको न्यानोपनले जाडो भगाउनु थियो। गोलीको साइँ-साइँ आवाजबीच चोरिएको एक झलक मुस्कान, बारुदको गन्धले भरिएको हत्केलामा लेखिएको एउटा सानो चिठी नै हाम्रो लागि प्रेमको सबैभन्दा ठूलो उत्सव थियो। हामीले प्रेमलाई सजाएनौँ, हामीले प्रेमलाई लड्न सिकायौँ।

कहिलेकाहीँ रातको सुनसानमा, जनयुद्धका ती उकुसमुकुसले भरिएका दिनहरू, छातीभित्रै गुम्सिएका चोखा मायाका पलहरू सम्झिँदा मनभित्र एउटा गहिरो शून्यताले तान्छ। मनको कुनै कुनाले चुपचाप प्रश्न गर्छ – के मैले आफ्नै वैयक्तिक जीवन र बैँसप्रति कुनै ठूलो भूल गरेँ?

तर लगत्तै, विवेक र क्रान्तिकारी चेतको उज्यालोले मनलाई ब्युँझाउँछ। अनि यहीँनेर एउटा गहिरो सत्य उद्घाटित हुन्छ –

प्रेमले मान्छेलाई कमजोर मात्र बनाउँदैन, प्रेमले मान्छेलाई असाधारण साहसी पनि बनाउँछ।

साँचो प्रेम कायरताको पर्याय होइन। मृत्युको घडीमा, जब मोर्चामा अन्तिम गोली बाँकी छ र सहयोद्धाको आँखामा जीवनको अन्तिम चमक बाँकी छ, त्यही बेला कसैको मायाले नै ट्रिगर थिच्ने आँट दिन्छ। ‘म मरे पनि तिमी बाँच्नुपर्छ, यो क्रान्ति बाँच्नुपर्छ’ भन्ने त्यो प्रेमले नै मान्छेलाई आफ्नै छातीमा गोली थाप्नसक्ने बज्र बनाउँछ। युद्धभूमिमा बैँसालु हुनु भनेको भोगवादी हुनु होइन, आफ्नो मायालाई नै हतियार बनाएर लड्नु हो।

एउटा पेसाले एउटा जीवन बचाउला, एउटा व्यवसायले आफ्नो परिवारको पेटसम्म पाल्ला, तर अधिकार र समानताको वर्गसङ्घर्षले सिङ्गो युग, देश र भावी पुस्ताको भविष्य बचाउँछ!

हामीले बन्दुक बिसायौँ, तर हाम्रो हातमा अझै पनि हिजोको त्यही अधुरो प्रेम र बाँकी जीवनको भारी छ

वर्गसङ्घर्षको रातो भेलमा फुल्नै नपाई ओइलाएका ती कोपिलाहरू, जसले आफ्नो ऊर्जाशील उमेर र मायालाई आहुति दिए, तिनै लाल योद्धाहरूको असीम दुःखको जगमा आजको नयाँ इतिहास ठिङ्ग उभिएको छ। आमाको स्नेहपूर्ण काखको न्यानोपन छाडेर, अनि बुवाको बुढेशकालको सहारा बन्ने सपना र कमाउने इच्छालाई क्रान्तिको वेदीमा बन्धक राखेर हिँडेका ती अमर योद्धाहरूकै बलमा आज शताब्दीयौँ पुराना वर्गीय विभेदका पर्खालहरू ढलेका हुन्।

र आज? आज युद्धको अभाव छ, तर विडम्बना हेरौँ – युद्धको अभावमा पनि हाम्रो बैँस सकिएको सकियै छ। हिजो युद्धले बैँस खायो भनेर चित्त बुझाइन्थ्यो, आज शान्तिको नाममा बजारले, बेरोजगारीले, विस्थापनले र व्यवस्थाभित्रको उहीँ पुरानो विभेदले बैँस खाइरहेको छ। हिजो मोर्चामा मर्नुको अर्थ थियो, आज बाँचेर पनि आफ्नो बैँसको कुनै अर्थ नभेट्टाउनुको पीडा झन् गह्रुङ्गो छ। हामीले बन्दुक बिसायौँ, तर हाम्रो हातमा अझै पनि हिजोको त्यही अधुरो प्रेम र बाँकी जीवनको भारी छ।

आफूले व्यक्त गर्न नभ्याएको त्यो उमेरको माया र रङ्गीन बैँस आज सारा समाजको स्वतन्त्रता र समानताका लागि चुकाइएको एउटा अमूल्य मूल्य बन्यो। कतिपयले रातको अन्धकारमा लुकिछिपी गाँसेको प्रेमको धागो पनि युद्धको मोर्चामा गोलीको आवाजसँगै चुँडिएर गयो। अघिल्लो रात जनवादी विवाहको रातो ब्यानरमुनि जीवनभर सँगै हिँड्ने कसम खाएर साटिएका बन्दुक र हात समातेका कतिपय जोडीहरूले, भोलिपल्टको भीषण मोर्चामा एक-अर्कालाई अन्तिम हेराइ हेर्दै मन-मुटु साट्न नपाई आफ्नो रगतले धर्ती रङ्गाउनुपर्‍यो।

त्यो कहालीलाग्दो प्रेम, त्यो छाती चिर्ने विछोडको पीडा आज इतिहासको पाना पल्टाउनेहरूका लागि केवल एउटा कथा लाग्न सक्छ। तर इतिहासको साक्षी बनेर उभिएका हरेक ढुङ्गा-माटालाई थाहा छ – यदि ती योद्धाहरूको त्यो अकल्पनीय त्याग, चोट, विछोड र बैँसको आहुति नभएको भए, यो मुलुकमा निरङ्कुश राजतन्त्रको अन्त्य र नागरिक अधिकारको यो उज्यालो बिहानी सम्भव नै थिएन।

फुल्न नपाएका ती चोखा मायाहरू, मृत्युको मुखमा पनि प्रेमलाई साहसमा बदल्ने ती हातहरू, र क्रान्तिको वेदीमा अर्पण गरिएका ती सुनौला बैँसहरूप्रति भावपूर्ण उच्च सम्मान तथा शत-शत सलाम!

 

-सलन मगर काभ्रेलि