पनौती नगर अस्पतालको स्तरोन्नतिबारे अवलोकन
प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ कार्तिक १२, बुधबार
काभ्रेपलाञ्चोक/ पनौती नगर अस्पतालको अवलोकन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण टोलीले अस्पतालका ओपीडी, इमर्जेन्सी, प्रयोगशाला, प्रसूति कक्ष र भर्ना कक्षको समेत अवलोकन गरेको छ ।
अवलोकन कार्यक्रमलाई नगर प्रमुख रामशरण भण्डारीले सम्बोधन गर्दै पनौती र आसपासका क्षेत्रका नागरिकलाई अझै भरपर्दो स्वास्थ्य सेवा दिन अस्पताललाई स्तरोन्नति गर्नु आवश्यक रहेको निष्कर्षसहित यो अवलोकन कार्यक्रम राखिएको बताउनु हुदैं पछिल्लो समय नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएको र विशेषज्ञ सेवा तथा आधुनिक उपकरणको माग बढेकोले यस विषयमा सरोकारवालासँग सर–सल्लाह भइ रहेको बताउनु भएको छ ।
“नगरवासीको स्वास्थ्य पहिलो प्राथमिकता हो। पनौती नगर अस्पताललाई रेफरल अस्पतालको रूपमा विकास गर्न हामी प्रतिबद्ध छौं। यसका लागि आवश्यक बजेट, जनशक्ति र प्रविधिको व्यवस्थापन नगरपालिकाले गर्छ ।” भन्नुहुदै अब नगरले छिट्टै नागरिकको नैसर्गिक आवश्यकता भित्रका सेवा दिन नगर प्रतिबद्ध रहेको बताउनु भएको छ ।नगर प्रमुख भण्डारीले छलफलमा उठेका सुझावलाई १५ दिनभित्र कार्ययोजनामा परिणत गरेर कार्यान्वयन प्रक्रिया सुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रमलाई डा. बाचुराम केसीले हाडजोर्नी सम्बन्धी सेवा विस्तार र हाडजोर्नी, बालरोग, स्त्रीरोग र आन्तरिक रोगका विशेषज्ञ सेवा नियमित रूपमा सञ्चालन गर्नेमा डा. केसीले हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । साथै पूर्वाधार र उपकरणः अस्पतालमा आवश्यक आधुनिक उपकरण थप गर्ने, प्रयोगशाला र एक्स–रे सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याउने प्रयासमा रहेको स्मरण गराउनु हुँदै जनशक्ति व्यवस्थापन दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने र थप नर्स तथा प्राविधिक कर्मचारीको व्यवस्था मिलाउने जटिल समस्या रहेको समेत खुलासा गर्नु भएको छ ।
अहिले अर्को समस्या भनेको सरसफाइ र व्यवस्थापनः अस्पताल परिसरलाई सफा, व्यवस्थित र हरियालीयुक्त बनाउने । बिरामीको लागि प्रतीक्षालय र खानेपानीको व्यवस्था सुधार्ने गर्नुपर्ने रहेको छ । कार्यक्रमलाई स्वागत गर्दै वडा अध्यक्ष मोहन बहादुर भण्डारीले अस्पताल संचालनको महत्वपूर्ण पक्ष सहकार्य र समन्वय रहेको जिकिर गर्दै स्थानीय संघसंस्था, समाजसेवी र सञ्चारकर्मीसँग सहकार्य गरेर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । वडा अध्यक्ष भण्डारीले वडा कार्यालयबाट पनि अस्पतालको स्तरोन्नतिका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।
कार्यक्रमलाई वरिष्ठ पत्रकार मधुसुधन गुरागाईंले अस्पतालको सेवा प्रवाहबारे नियमित रूपमा नागरिकलाई जानकारी दिन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।त्यस्तै समाजसेवी शरद कुमार भण्डारीले अस्पतालको विकासका लागि आफू र स्थानीय समुदायले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमलाई सशस्त्र प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक राघव सिंह थापाले विपदको समयमा अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिनुभयो । पनौती, खोपासी र वरपरका झण्डै नगर भित्रका १० वटा वडाका करिब ५० हजार नागरिक यस अस्पतालमा निर्भर छन् । धुलिखेल अस्पताल वा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्यका लागि पनौती नगर अस्पताललाई बलियो बनाउनु अपरिहार्य छ। आजको छलफलले त्यही दिशामा महत्वपूर्ण कदम चालेको छ । अवलोकन कार्यक्रमको अन्त्यमा सहभागीहरूले अस्पतालको स्तरोन्नति अभियानमा आफूहरू सधैं साथमा रहने बताएका छन् ।
पनौती नगरपालिका क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आज पनौती नगर अस्पतालको निरीक्षण तथा स्तरोन्नतिबारे विस्तृत छलफल गरिएको छ । कात्तिक ९ गते आइतबार पनौती नगर अस्पतालमा आयोजित निरीक्षण तथा छलफल कार्यक्रममा अस्पतालको वर्तमान अवस्था, दिइँदै आएका स्वास्थ्य सेवा र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा गम्भीर रूपमा मन्थन भयो। कार्यक्रममा अस्पताललाई थप व्यवस्थित, प्रविधियुक्त र नागरिकमैत्री बनाउने विषयमा ठोस सुझावहरू प्रस्तुत गरिएका थिए । छलफलमा सहभागीहरूले अस्पतालमा विशेषज्ञ सेवा विस्तार, उपकरणको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र पूर्वाधार सुधार गर्नुपर्नेमा जोड दिए ।
अवलोकन कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख श्री रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको त्यस्तै कार्यक्रममा पनौती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी ज्यू वरिष्ठ पत्रकार श्री मधुसुधन गुरागाईं, भूतपूर्व निजामती कर्मचारी तथा समाजसेवी शरद कुमार भण्डारी सशस्त्र प्रहरी बलका अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक राघव सिंह थापा र हाडजोर्नी रोग विशेषज्ञ डा. बाचुराम केसी लगायतको सहभागीता रहेको छ ।