logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ कार्तिक १२, बुधबार
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ / बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शुक्रबारदेखि चक्रवातको प्रभाव नेपालमा पर्न सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा टार्न तथा नदी, खोला र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न आग्रह गरेको छ। साथै, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।

आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।