प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
सप्तरी / सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म कोशी ब्यारेजको विकल्पका रूपमा तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ। करिब ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना एसियाली विकास बैंकको सहयोगमा अघि बढाइने सडक विभागले जनाएको छ।
सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार पुलसँगै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिनेछ। नयाँ पुल र सडक सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको यात्रा करिब १४ किलोमिटर छोटिनेछ।
हाल पुल तथा सडक निर्माणका लागि आवश्यक प्राविधिक र प्रक्रियागत तयारी भइरहेको छ। परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय तथा कानुनी स्वीकृतिका विषयमा पनि काम भइरहेको छ।
पुरानो हुँदै गएको कोशी ब्यारेज र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै प्रस्तावित वैकल्पिक मार्ग पूर्वी नेपालको यातायात व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।